प्रधानाध्यापकको भनाई

नइन्द्र बहादुर गुरुङ्ग

प्रधानाध्यापक

विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा सानो घर जस्तो बनाएको छ । हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग व्यापक बन्दै गएको वर्तमान परिप्रेक्षमा शैक्षिक क्षेत्र पनि अछुतो रहन सक्दैन भन्ने मान्यता अनुरुप सिकाई सहजीकरण क्रियाकलापमा पनि यस विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्दै आइरहेको छ । सिकाइलाई दिगो र प्रभावकारी बनाउँनका लागि परम्परागत विधि पूर्ण नभएको कारण आधुनिक प्रविधिका साधनहरुको प्रयोगमा वृद्धि गर्नु परेको हो । शिक्षा भनेको बाल्टिन भर्नु होईन, आगो सल्काउनु हो भन्ने मान्यता अनुरुप अब, आधुनिक प्रविधिको आगो सल्काउनु नै श्रेयस्कर हुनेछ ।
रविन्द्रनाथ टैगोरको भनाई अनुसार- आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको हो । त्यसकारण फरक फरक समयमा जन्मिएका बच्चाहरुलाई फरक किसिमले ज्ञान र प्रविधिको वारेमा जानिफकार बनाउँदै अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य र दक्ष जनशक्ति तयार गर्नु नै आजको प्रमुख चुनौती हो । जसका लागि हिजोका ज्ञान र प्रविधिबाट मात्रै सम्भव नहुने भएको हुनाले आधुनिक विधि र प्रविधि भित्र्याउनु परेको हो । एक सर्वोत्कृष्ट शिक्षकको हैसियतले भन्ने, वर्णन गर्ने र प्रदर्शन गर्ने भन्दा पनि विद्यार्थीहरुलाई प्रेरित गर्नका लागि पनि आधुनिक प्रविधिको महत्व व्यापक बनेको हो ।
२०१७ सालमा गुरुकुल सरहको शिक्षा दिंदै स्थापना भएको यस विद्यालयले इतिहासका कालखण्डमा विभिन्न आरोह र अवरोहहरु पार गर्दै वर्तमान अवस्थासम्म ल्याई पुर्याउने स्थानीय अभिभावक, बुद्धिजीवी, आमा समूह, लाहुरे दाजुभाइ, शिक्षक साथीहरु र चन्दादाताहरुको भूमिका अविस्मरणीय बनेको छ । प्राथमिक तहदेखि निम्न माध्यमिक र माध्यमिक तह स्थानीय स्रोत साधनबाट सञ्चालन गर्ने प्रतिकुल परिस्थितिमा पनि शिक्षामा गरिएको लगानी कहिल्यै खेर जादैन भन्ने मान्यता अनुरुप ३/३ पटकसम्म चन्दा प्रदान गर्नुहुने चन्दादाता, लाहुरे दाजुभाइ र स्थानीय अभिभावक ज्यूहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।
विश्व बदल्न सक्ने शक्तिशाली हतियार मानिने शिक्षा मानिसले कोक्रोदेखि चिहानसम्म हासिल गरिरहेको हुन्छ । यस्तो शक्तिशाली हतियारमा लगानी गरिएको श्रम, धन, सम्पत्ति र मिहिनेतको उच्च सम्मान गर्दछु । साथै प्रा.वि., नि.मा.वि. र मा. वि. तह स्थापना र भवन बनाउने क्रममा अहोरात्र खट्नुहुने शिक्षाप्रेमी, विव्यस, शिअसं. का पदाधिकारी, सचेत र सक्रिय अभिभावक, सरकारी तथा गैर सरकारी संघ संस्था, जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका लगायत आफू जलेर अरुलाई उज्यालो प्रदान गर्नुहुने सम्पूर्ण शिक्षक साथीहरुलाई स्मरण गर्दै धन्यवाद दिन चाहान्छु ।
अन्तमा, यस वेबसाइडको प्रयोगले विद्यालयका सम्पूर्ण गतिविधिहरुको उजागर गर्दै आर्थिक पारदर्शिता, नियमितता, जवाफदेहिता र सुशासनको प्रत्याभूति दिनेछ । भूतपूर्व विद्यार्थीहरुको सञ्जाल विकास गरी सूचना र सञ्चारमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ । देश विदेशमा रहनु भएका लाहुरे दाजुभाइहरुसँग सम्पर्क स्थापित गरी विद्यालयको योजना र रणनीतिहरु कार्यान्वयन गर्नमा टेवा पुग्नेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपबाट आर्थिक सहयोग गर्न र विदेशी भोलेन्टियर प्राप्त गर्न समेत यसले उल्लेख्य भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा लिएको छु ।