गण्डकी प्रदेश, बागलुङ जिल्ला अन्तर्गत ताराखोला गाउँपालिका वडा नं.१ भुस्कातमा सञ्चालित श्री जनप्रेम माध्यमिक विद्यालय जिल्लाकै एउटा उत्कृष्ट सामुदायिक विद्यालय हो । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि करिब ३५ कि.मि. को दुरी र समुद्री सतहदेखि १८०० मिटरको उचाइमा अवस्थित यो विद्यालयको स्थापना वि.सं.२०१७ मा भएको हो । यो विद्यालयको स्थापनामा भू.पु. जि.पं.स. पृथीबहादुर गुरुङ, स्व. जि.मु. बलबहादुर गुरुङ, भू.पु. जि.पं.स. भीमबहादुर गुरुङ, स्व.ज. लालसिंह गुरुङ, स्व.नन्द प्रसाद गुरुङ, स्व. अमर बहादुर गुरुङ, स्व .डमर बहादुर गुरुङ, स्व .भक्तराम छन्त्याल, स्व . दिल बहादुर छन्त्याल, स्व. मनवीर छन्त्याल, स्व. धन बहादुर घर्ती, स्व. मनबहादुर घर्ती, स्व. देवीलाल सापकोटा, स्व. तुलसीराम कँडेल, स्व. मनवीर वि.क. आदिको विशेष योगदान छ । उनीहरुकै पहलकदमीमा वि.सं. २०१४ देखि भुस्कातमा गुरुकूल तरिकाको शिक्षा सुरु भएको थियो । तर विद्यार्थीहरुको लागि पढ्ने विद्यालय भवन थिएन । २०१५ सालमा राजा महेन्द्र पूर्व पश्चिम भ्रमणको क्रममा बागलुङ बिहुँ रामकोट आइपुग्दा भू.पु. जि.पं.स. पृथीबहादुर गुरुङको अगुवाइमा भुस्कात गाउँका शिक्षाप्रेमी अग्रजहरु बिहुँ रामकोट पुगी विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग पाउँ भनी राजा महेन्द्रलाई निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा राजाबाट रु.५००।– आर्थिक सहयोग प्राप्त भयो । त्यही सहयोगबाट २०१७ सालमा हाल विद्यालय रहेकै ठाउँमा २ कोठे २ तले भवन निर्माण गरी स्व.ज. लालसिंह गुरुङ, स्व.दिलबहादुर छन्त्याल र स्व. मनवीर छन्त्यालबाट औपचारिक शिक्षा शुभारम्भ भएको हो । ब्रिटिस-भारतीय पेन्सनवाला सैनिकहरुबाट औपचारिक शिक्षा शुभारम्भ भएको केही समयपछि म्याग्दी जिल्ला बेनी बजारबाट कक्षा ७ उत्तीर्ण गरेका अविर कुमार श्रेष्ठलाई ल्याई प्रधानाध्यापकको पदमा नियुक्त गरियो । उनै अविर कुमार श्रेष्ठले यो विद्यालयको नाम श्री जनप्रेम प्राइमरी स्कूल राखेका हुन् ।
यो विद्यालयमा सुरु देखि नै कक्षा १ देखि कक्षा ५ सम्म अध्यापन गराउने अनुमति प्राप्त थियो । त्यसैले वि.सं. २०१७ देखि पहिलो व्याचको विद्यार्थी बन्ने मौका प्रा.डा. ओम गुरुङ, टेक बहादुर गुरुङ, शेर बहादुर गुरुङ, धन बहादुर छन्त्याल, भिमलाल सापकोटा र नरबहादुर घर्तीले पाए । यो विद्यालयमा नियमित रुपमा अध्ययन गरेर २०२२ सालमा कक्षा ५ उत्तीर्ण गरी यो विद्यालयबाट प्रा.डा. ओम गुरुङ र टेकबहादुर गुरुङ गल्कोट हरिचौरको भरत चैतन्य निम्न माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न भए भने यिनीहरुसँगै कक्षा ५ उत्तीर्ण गरेका शेरबहादुर गुरुङ र धन बहादुर छन्त्याल भारतीय सेनामा भर्ती भए तथा भिमलाल सापकोटा र नरबहादुर घर्तीले कक्षा ५ सम्मको पढाइलाई निरन्तरता दिएनन् र बिचैमा छोडी आफ्नो व्यवसायतिर लागे । उनीहरु पछिका मुख्य मुख्य विद्यार्थीहरु क्या.नन्द प्रसाद गुरुङ, क्या.दलबहादुर गुरुङ, क्या.हर्कबहादुर गुरुङ, कृष्णजित गुरुङ, चन्द्रबहादुर घर्ती, बमबहादुर छन्त्याल, छविलाल छन्त्याल, चन्द्रबहादुर वि.क., नैनबहादुर वि.क., नरबहादुर वि.क., नरसिंह घर्ती, हिराबहादुर गुरुङ, ध्वजबहादुर गुरुङ, खरबहादुर गुरुङ, लालमणि श्रीस, दल बहादुर छन्त्याल, अनन्त सापकोटा, भूमिराज वि.क., रनबहादुर गुरुङ, चस्मत गुरुङ, समरबहादुर घर्ती, गंगप्रसाद गुरुङ र नईन्द्रबहादुर गुरुङ आदि हुन् । उनीहरुमध्ये बमबहादुर छन्त्याल, ध्वजबहादुर गुरुङ, लालमणि श्रीस, एस.एल.सी. अध्ययन पूरा गरी सोही विद्यालयको शिक्षक बनेर विद्यालयको सेवा गरे, नईन्द्रबहादुर गुरुङ लामो समयदेखि विद्यालयको प्रधानध्यापकको रुपमा अझै सेवारत छन् । धेरैजसो बेलायत तथा भारतीय सेनामा भर्ती हुन पुगे भने कोही बिचैमा पढाई छोडी घर व्यवहारमा लागे । यो विद्यालयमा अध्ययन गर्ने पहिलो महिला विद्यार्थीहरु भुवानीदेवी गुरुङ, मनकुमारी गुरुङ, देवीमाया गुरुङ र नरदेवी गुरुङ हुन् ।
वि.सं. २०१७ मा स्थापना भएको यो विद्यालयले धेरै लामो समयपछि मात्र ५ कक्षा भन्दा माथिसम्म पढाउन पाउने सरकारी अनुमति प्राप्त गरयो । विद्यालयका शिक्षक, अभिभावक तथा गाउँका भद्रभलाद्मीहरुको अथक प्रयास पछि यो विद्यालयले २०३२ सालमा कक्षा ७ सम्म अध्यापन गराउन पाउने नि.मा.वि. तहको स्थायी अनुमति प्राप्त गरयो । नि.मा.वि. तहको कक्षा ७ उत्तीर्ण विद्यार्थीहरु सो भन्दा माथि अध्ययन गर्न घण्टौं हिंडेर हटिया र बिहुँ पुग्नु पर्ने तथा बागलुङ गई डेरा लिएर बस्नुपर्ने बाध्यता हुँदा शारीरिक तथा आर्थिक स्थिती कमजोर भएका विद्यार्थीहरु या त पढाई छोडेर त्यतिकै अलपत्र परेर बस्नु पर्ने या रोजगारीका लागि विदेश पलायन हुनुको विकल्प थिएन । विदेश गएका विद्यार्थीहरुको शैक्षिक योग्यता पनि कमी र प्राविधिक सिप पनि कमी हुने हुँदा उनीहरु सबैले पढाई हुने माध्यमिक विद्यालय खोली आफ्ना छोराछोरी पढाउनका लागि सहयोग गर्न सरकारलाई धेरै पटक अनुरोध गरे । तर सरकारले उनीहरुको अनुरोध कहिल्यै सुनेन । आर्थिक स्थिति कमजोर भएको हुँदा गाउँलेहरु आफैले माध्यमिक विद्यालय खोल्न सक्ने स्थिति पनि थिएन । त्यसैले उनीहरु त्यतिकै कमजोर भएको हुँदा गाउँलेहरु आफै माध्यमिक विद्यालय खोल्न सक्ने स्थिति पनि थिएन । त्यसैले उनीहरु त्यतिकै निरिह बनेर बसेका बेला जहाँ इच्छा त्यहाँ उपाए भने झैं सोही विद्यालयका पूर्व विद्यार्थी तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. ओम गुरुङ आफ्ना गाउँलेहरुका चाहना अनुरुप आफ्नो गाउँ भुस्कातमा माध्यमिक विद्यालय खोल्न गाउँलेहरुलाई सहयोग गर्ने उपाएको रुपमा उपस्थित भए । स्व. भीमबहादुर गूरुङ, स्व.जि.मु. बलबहादुर गुरुङ, भू.पू.जि.पं.स. पृथीबहादुर गुरुङ र सु. हिराबहादुर गुरुङको विशेष प्रस्ताव, विद्यालयका शिक्षक र गाउँलेहरुको विशेष अनुरोधमा प्रा.डा. ओम गुरुङले आफू र आफ्ना परिवार तथा बेलायती सेनामा सेवारत गाउँले दाजुभाई र विद्यालयका पूर्व विद्यार्थीहरुबाट आर्थिक सहयोग सङ्कलन गरी नि.मा.वि. तहको विद्यालय स्थापना भएको १७ वर्षपछी २०४९ सालमा माध्यमिक तहको विद्यालय सञ्चालन गर्ने सरकारी अनुमति प्राप्त गराए । तद्अनुरुप २०५० सालदेखि कक्षा ८, २०५१ सालदेखि कक्षा ९ र २०५२ सालदेखि भुस्कातको श्री जनप्रेम विद्यालयमा कक्षा १० सञ्चालन हुनुका साथै २०५२ सालमा विद्यालयले प्रथम पटक एस.एल.सी. परीक्षामा सामिल भएको श्री जनप्रेम माध्यमिक विद्यालयले स्थायी स्वीकृति प्राप्त गर्न सकेन । फलस्वरुप स्थानीय स्रोत र साधनबाट विद्यालय सञ्चालन गर्नु पर्दा स्थानीय जनतालाई चर्को आर्थिक भार ब्यहोर्नु पर्यो ।
भुस्कातका जनताहरु विद्यालयको विकासप्रति निकै सहयोगी र संवेदनशील छन् । विद्यालयको भौतिक तथा शैक्षिक विकासमा शिक्षाप्रेमी, स्थानीय जनता, अभिभावक, आमा समूह र स्थानीय जनप्रतिनिधि सबैको ठूलो लगानी छ । भुस्कातका विभिन्न तह र तप्काका स्थानीय जनताहरुको लगानी, प्रा.डा. ओम गुरुङ जस्ता बुद्धिजीवी तथा विदेशमा काम गर्ने भुस्काते युवाहरुको निरन्तर सहयोग, विद्यालयको प्र.अ. नईन्द्रबहादुर गुरुङको तत्परता र विद्यालय व्यवस्थापन समितिको बलियो समर्थनका फलस्वरुप वि.सं. २०६७ मा उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन लिई सोही बर्षदेखि १०+२ को कक्षा सञ्चालन भएको हो । हाल यस विद्यालयमा कक्षा १ देखि १०+२ सम्म २५६ विद्यार्थीहरु अध्ययनरत र १८ शिक्षकहरु अध्यापनरत छन् । यी १८ शिक्षकहरुमध्ये १४ जनाले सरकारी अनुदानबाट (प्राथमिक तहमा ५, नि.मा.वि. तहमा ३, मा.वि. तहमा २ गरी १० र मा.वि. तहमा राहत कोटा २ तथा उच्च मा.वि. तहमा २) तलब भत्ता पाउछन् भने बाँकी ४ शिक्षकहरुको तलब भत्ता स्थानीय स्रोतबाट बेहोरिएको छ । यसले गर्दा अझैपनि जनतालाई विद्यालय सञ्चालनको लागि ठुलै आर्थिक भार परेको छ ।
यो विद्यालय स्थापना भएको आज ६० वर्ष अर्थात ६ दशक पुरा भएको छ । ६ दशकको अवधिमा यो विद्यालयले विभिन्न उकाली ओराली पार गर्दै शैक्षिक तथा भौतिक विकासको क्षेत्रमा अनुपम प्रगति गरेको छ । वि.स. २०२२ मा यस विद्यालयबाट पहिलो पटक ५ कक्षा उत्त्तीर्ण गर्ने ४ जना विद्यार्थी मध्येका १ जना विद्यार्थी प्रा.डा. ओम गुरुङ भारतको पुना विश्वविद्यालय र अमेरिकाको कोर्नेल विश्वविद्यालय जस्तो अन्तर्रास्ट्रिय शैक्षिक जगतमा ख्यातिप्राप्त विश्वविद्यालयहरुबाट मानवशास्त्र विषयमा क्रमशः एम.ए. र पि.एच.डी. डिग्री प्राप्त गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाशास्त्र मानवशास्त्र केन्द्रिय विभागको संस्थापक प्राध्यापक र विभागीय प्रमुख जस्तो गरिमामय शैक्षिक पदमा पुग्न सफल भए । उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा एउटा स्थापित बौद्धिक व्यक्तित्व र प्रखर सामाजिक तथा राजनीतिक नेतृत्वका रुपमा परिचित छन् । उनी पछि यस विद्यालयका पूर्व विद्यार्थीहरुमध्ये अंग्रेजी विषयमा पि.एच.डी. डिग्री प्राप्त गर्ने अर्का व्यक्ति भानु कँडेल हुन् । उनी अहिले पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा अंग्रेजी विषयका उप-प्राध्यापक छन् । यसै विद्यालयका विद्यार्थीहरुमध्ये नरजङ्ग गुरुङले इञ्जिनियरिङ्ग विषयमा डिग्री प्राप्त गरेर नेपाल सरकारको कर्मचारीको रुपमा सेवारत छन् भने बुद्धिबहादुर श्रीसले पनि सोही विषयमा डिग्री प्राप्त गरेर ब्रिटिश वेलफेयर सेन्टर पोखरामा सेवारत छन् । त्यसैगरी देवीलाल सापकोटाले एम.एस.सी. डिग्री प्राप्त गरेपछि अहिले ताराखोला गाउँपालिकामा सेवारत छन् भने विकास सापकोटाले इन्जिनियर विषयमा डिग्री प्राप्त गरी बेलायतमा कार्यरत छन् । विद्यालयका अर्का विद्यारथी विष्णु प्रसाद सापकोटाले कृषि विषयमा एम.एस.सी. डिग्री प्राप्त गरेपछि झापा कृषि क्याम्पसमा अध्यापनरत छन् भने गोविन्द ढुङ्गाना नेपालमा र बाबुराम नर्वेको विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत छन् । यसरी उनीहरुले आफ्ना विषयमा उच्च डिग्री प्राप्त गरी आफ्ना क्षेत्रमा विशिष्ट योगदान पुर्याएर यो विद्यालयको गरिमा बढाउनुका साथै विद्यालयको छविलाई उच्च बनाउन योगदान पुर्याएका छन् । हामी उनीहरु सबैप्रति गौरव महशुस गर्दछौं र उनीहरुको योग्यता तथा योगदानको उच्च कदर गर्दछौं । यसैगरी यस विद्यालयबाट प्रारम्भिक तथा माध्यमिक तहको शिक्षा प्राप्त गरेर ब्रिटिश तथा भारतीय सेनामा काम गरी सेवा निवृत भएका विद्यार्थी तथा विभिन्न देशमा गई काम गरी फर्किएका तथा हालसम्म कार्यरत विद्यार्थीहरु पनि आ-आफ्ना क्षेत्रमा स्थापित भएका छन् र यस विद्यालयको लागि निरन्तर सहयोग पुरयाइरहेका छन् । हामी उनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
श्री जनप्रेम माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगति उल्लेखनिय छ । यो विद्यालयले २०६०, २०६६ र २०६७ सालको एस.एल.सी. परीक्षामा सत् प्रतिशत नतिजा ल्याउन सफल भयो । अहिलेसम्म यस विद्यालयबाट एस.एल.सी.उत्तीर्ण गर्ने विद्यार्थी संख्या र १०+ २ उत्तीर्ण गर्ने विद्यार्थी संख्या ५५६७ पुगेको छ । यी विद्यार्थीहरुमध्ये निखिल रोका मगर पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत छन् भने अन्य विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनका लागि बागलुङ, पोखरा र काठमाण्डौका विभिन्न कलेज/ क्याम्पसहरुमा पुगेका छन् । तर आर्थिक कठिनाइका कारण केही विद्यार्थीहरु भने अध्ययन छोडी स्वरोजगार र केही विदेशी रोजगारमा लागेका छन् । यस विद्यालय पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि चर्चित मानिन्छ । प्रत्येक शुक्रबार र विशेष शैक्षिक अवसरहरुमा आयोजना गरिने शैक्षिक गीत/ नृत्य, कविता वाचन, वक्तृत्व कला, लोकगीत, भलिवल खेल आदि प्रतियोगिता नियमित रुपमा सञ्चालन हुने विद्यालयका अतिरिक्त क्रियाकलापहरु हुन् । यसबाहेक वातावरणीय र वातावरण सुधार कार्यक्रमको लागि यस विद्यालयमा स्थापना भएको ग्रीन क्लव २०५९ सालमा नेपालमै प्रथम भयो भने केही वर्ष अघिदेखि शुरु भएको तेक्वान्दो प्रतियोगितामा यस विद्यालयका विद्यार्थी खेलाडीहरु जिल्लामा सर्वोत्कृष्ट र गण्डकी प्रदेशमा उत्कृष्ट भएका छन् । विद्यालयको शैक्षिक प्रगति, अतिरिक्त क्रियाकलाप, शैक्षिक प्रशासन, अभिभावकहरुको सहयोग, शिक्षक विद्यार्थीहरुको लगनशिलता, अनुशासन र नियमित पठनपाठन, विद्यालयको भौतिक पूर्वाधार आदि सबैको समग्र मूल्याङ्कन गरेर २०६८ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भयो । वि.सं. २०७१ मा सोही विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङ २०७१ सालमा पि.पि. प्रसाई राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएपछि विद्यालयको शैक्षिक छवी अझै माथि उठेको छ ।
आजको युग सूचना र प्रविधिको युग भएकोले श्री जनप्रेम मा.वि. मा औपचारिक शिक्षा बाहेक प्राविधिक शिक्षाको रुपमा कम्प्युटर कक्षा सञ्चालन हुँदै आएको छ । आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि कम्प्युटर जस्तो प्राविधिक विषयमा ज्ञान हासिल गर्ने अवसर दिएकोले विद्यार्थीहरुका अभिभावकहरु विद्यालयदेखि अत्यन्त खुसी छन् र उनीहरुमा छोराछोरीका लागि शिक्षामा लगानी गर्ने उत्साह बढेको छ । विद्यालयको पठनपाठन पनि मल्टिमिडिया प्रोजेक्टर, स्मार्ट बोर्ड र स्मार्ट टि.भी.द्वारा सञ्चालन गरिने हुँदा यो विद्यालय जिल्लाकै उदाहरणीय विद्यालय बनेको छ । यस्ता कार्यले गर्दा यो विद्यालय बागलुङ जिल्लाका अन्य विद्यालयहरुलाई अवलोकन भ्रमणको केन्द्र बनेको छ । स्थानीय जनताको आवश्यकता र मागलाई ध्यानमा राखी शिक्षालाई अझै व्यवसायिक, व्यवहारिक र प्रविधि मैत्री बनाउन आगामी शैक्षिक सत्रदेखि यो विद्यालयमा कक्षा ९ देखि १०+ २ सम्म कृषि विषयको पठनपाठन शुरु गर्ने निर्णय २०७८ फागुन १२ र १३ गते सम्पन्न विद्यालयको ६१ औं वार्षिकोत्सवमा गरिएको छ ।
पठनपाठनका साथै विद्यालयको भौतिक संरचना र प्राविधिक सुविधाको पनि विकास भएको छ । २०१७ सालमा राजा महेन्द्रको रु.५००।– अनुदानबाट निर्मित २ कोठे २ तले भवनको ठाउँमा स्थानीय जनताको श्रमदान र जिल्ला विकास समितिको सिमित आर्थिक सहयोगबाट निर्मित भवन जीर्ण भएकोले त्यसलाई भत्काई बेलायत स्थित ग्रो योर एजेन्सि (Grow Your Agency) को आर्थिक अनुदानबाट पोखरा स्थित पहाड ट्रष्ट नेपालले ८ कोठे २ तले पक्की आधुनिक भवनको निर्माण गरिदिएको छ । हामी ती दुवै संस्थालाई धन्यवाद दिन चाहन्छौं । त्यसैगरी शिक्षा परियोजनाको आर्थिक सहयोगमा भुस्कात गाउँ माथिको बुकेनीमा अर्को ८ कोठे २ तले भवन निर्माण भएको छ । विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुको अध्ययनको लागि पुस्तकालय स्थापना भएको छ भने विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध छ । त्यसैगरी विद्यालयको शैक्षिक गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबीच सम्प्रेषण गर्न ताराखोला गाउँपालिकाको सहयोगमा भर्खर मात्र विद्यालयको आफ्नै वेब पेज (Web Page) निर्माण भएको छ । विद्यालयको यस्ता महत्वपूर्ण कामले यो विद्यालय जिल्लाभरिकै उदाहरणीय र स्थानीय समुदायद्वारा सञ्चालित देशकै एक चर्चित विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ ।