भवन उदघाटन कार्यक्रम सम्पन्न

अशोज १३ , २०८१

पहार ट्रस्ट नेपालको सहकार्य, GROW YOUR AGENCY र ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायको श्रमदानबाट जनप्रेम माध्यमिक विद्यालयमा नयाँ ८ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन निर्माण पश्चात कोभिड १९ का कारणले गर्दा सहयोगि दाताहरु युकेदेखि आउन नसकेको हुनाले उदघाटन भने हुन सकेको थिएन । त्यसैले यही मिति २०७९ साल फागुन २० गते शनिवारका दिन बेलायतका Iman Gadzhi, पहार ट्रस्ट नेपालका सल्लाहकार श्री चन्द्र बहादुर गुरुङ र पहार ट्रस्ट नेपालका अध्यक्ष श्री विजुली गुरुङले संयुक्त रुपमा समुदघाटन गर्नुभएको छ ।

पहार ट्रस्ट नेपालका पदाधिकारी तथा GROW YOUER AGENCY का सम्पूर्ण सदस्यहरुलाई पञ्चेबाजा सहित विद्यालय प्राङ्गणभित्र ल्याउदै गर्दा विद्यार्थीहरुले पुष्पगुच्छा र पुष्पवृष्टि गरेर स्वागत गरेका थिए । विदेशबाट पाल्नुहुने सम्पूर्ण विदेशी अतिथिहरुलाई नेपाली ढाका टोपी लगाई दिएर स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नेपाली लोक सँस्कृति झल्कने विभिन्न किसिमको लोकनृत्य समेत प्रस्तुत गरेका थिए । रेसम फिरिरि भन्ने लोक गीतमा नृत्य प्रस्तुत गर्दै गर्दा विदेशी सहयोगिहरुले मन थाम्नै नसकेर विद्यार्थीहरुसँगै नृत्य गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाले आयोजना गरेको कक्षा ९-१२ को सामूहिक लोक नृत्य प्रतियोगितमा प्रथम भएका जनप्रेम माध्यमिक विद्यालयका प्रतियोगि कलाकारहरु र जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक र रजत पदक विजेता विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा भवन निर्माण समितिका संयोजक गौरीमाया गुरुङ, सदस्यहरु जग बहादुर छन्त्याल, भूमिराज सापकोटा, सन्तु घर्ती, खरिमाया वि.क. र सल्लाहकार गंग प्रसाद गुरुङ एवम् पूर्ण बहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङको सञ्चालन, विव्यस सल्लाहकार श्री गंग प्रसाद गुरुङको स्वागत मन्तव्यबाट अघि बढेको ‍‌औपचारिक कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्री यम बहादुर श्रीस, पहार ट्रस्ट नेपालका सल्लाहकार श्री चन्द्र बहादुर गुरुङ, GROW YOUER AGENCY बाट पाउल र एलोनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।