आफ्नै वेषभुषामा विद्यालय

अशोज १३ , २०८१

जनप्रेम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु आ-आफ्नै वेषभुषामा विद्यालय आउन पाउने व्यवस्था गरिएको छ । प्रत्येक दिन विद्यालयले निर्धारण गरेको विद्यालयको पोसाकमा विद्यार्थीहरु विद्यालयमा आइरहँदा नैराश्यता पैदा हुने भएको हुनाले महिनाको एकदिन विभिन्न जात जातिहरुको पोसाकमा विद्यालयमा आउन पाइने व्यवस्था गरिएको हो । शैक्षिक सत्र २०८१ देखि प्रत्येक महिनाको मसान्तको अघिल्लो दिन नेपालमा बसोबास गर्ने कुनै पनि जातजातिको भेषभुषामा सजिएर विद्यार्थीहरु विद्यालयमा आउन थालेका छन् । विद्यार्थीहरुले पहिरेको पोसाकको मूल्याङ्कन गरी आधारभूत तह र माध्यमिक तहबाट प्रथम, द्धितीय र तृतीय हुने छात्रा छात्रहरुलाई पुरस्कृत समेत गर्ने गरिएको छ ।
हरेक महिनामा सञ्चालन गरिने यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुले आ-आफ्नो जातजातिको पोसाकको सम्मान गर्न पाएका छन् भने अर्को तर्फ विभिन्न जातजातिहरुको पोसाक के कस्तो रहेछ भन्ने कुराको जानकारी समेत प्राप्त गर्न पाएका छन् । पश्चिमेली छाडा सँस्कृतिको जरा झाङ्गिदै गइरहेको परिप्रेक्षामा यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा नेपालमा बसोबास गर्ने जातजातिहरुको पोसाकप्रति गर्व बढेको छ भने अर्को तर्फ आ-आफ्नो वेषभुषाको संरक्षण गर्दै पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने कुरा विद्यालयका सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुन बताउनुहुन्छ । घरबाटै आफूलाई मन पर्ने विभिन्न जातजातिहरुको पोसाक लगाएर विद्यालयमा आउन पाउँदा उक्त दिन विद्यार्थीहरु निकै उत्साही र खुशी भएको कुरा विद्यालयका सूचना अधिकारी श्री दामोदर शर्मा भन्न्हुन्छ ।
२०८१ साल भाद्र ३० गते सम्पन्न भएको प्रतियोगितामा आधारभूत तहमा प्रथम कक्षा ८ मा अध्ययनरत छात्रा रचना घर्ती मगर द्धितीय कक्षा ५ मा अध्ययनरत छात्र रोहित घर्ती मगर र तृतीय कक्षा ७ मा अध्ययनरत छात्रा दिपशिखा वि.क. र माध्यमिक तह तर्फ प्रथम कक्षा १२ मा अध्ययनरत छात्रा गीता रोका द्धितीय कक्षा १२ की छात्रा विनिता पुन र तृतीय कक्षा १२ कै छात्रा देवी वि.क. भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने छात्रा तथा छात्राहरुलाई विद्यालयको तर्फदेखि पुरस्कृत गरिएको छ ।