कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

अशोज १३ , २०८१

श्री जनप्रेम मा.वि. भुस्कातले कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको छ । यही मिति २०८० साल भाद्र ६ गते बुधबारका दिन विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना प्रदान गरिएको व्यहोरा विद्यालयका सूचना अधिकारी श्री दामोदर शर्माले जानकारी गराउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले यस वर्षको कक्षा १२ को नतिजा गाउँपालिकामा नै राम्रो देखिएको छ । यसको श्रेय शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई दिंदै विद्यालयले यसको निरन्तरताको अपेक्षा गरेको कुरा बताउनुभयो । समय र परिस्थितिलाई बदल्न नसकिए तापनि समय र परिस्थिति अनुरुप आफूलाई बदल्नु पर्छ भन्दै जसरी झुसिल्किराले आफूलाई बदलेर पुतलीको रुपमा विकास गर्छ त्यसैगरी हामीले पनि आफूलाई बदल्न जान्नुपर्छ । आफूलाई बदल्न नसक्ने व्यक्ति कालान्तरमा भिखारी बनेर मन्दिरमा गई भिक्षा माग्नु पर्ने भएको हुँदा दार्शनिक सुकरात जस्तो अध्ययनशील बनेर समाज र राष्ट्रका लागि उदाहरणीय बन्नुपर्छ भन्ने कुरा बताउनुभयो ।

प्रमुख अतिथि कार्यवाहक अध्यक्ष गौरीमाया गुरुङले पढ्ने कुरा आफ्नो इच्छाशक्तिमा भर पर्छ र पढ्ने इच्छाशक्ति कहिल्यै पनि नछोडि निरन्तर रुपमा लाग्नुपर्छ भन्दै आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कक्षा १२ की छात्रा मनकुमारी नाइसाले सफल दाइदिदीहरुलाई बधाई दिंदै अर्को वर्षका लागि हामीहरुलाई पनि प्रेरणा मिलेको हुनाले शिक्षकहरुसँग सहकार्य गर्ने, नियमित रुपमा विद्यालय आउने र घरमा मिहिनेतका साथ स्वःअध्ययन गर्न यो कार्यक्रमले हौसला प्राप्त भएको कुरा बताउनुभयो ।

कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै जेनिसा नेपालीले हाम्रो सफलतामा विद्यालय, विव्यस, शिक्षक र अभिभावकहरुको अतुलनीय भूमिका रहेको हुनाले सजिलैसँग कक्षा १२ उत्तीर्ण गर्न सकेको अनुभव सुनाइन् । शिक्षकहरुले देखाएको मार्गमा हिड्ने हो भने कुनै पनि विद्यार्थीहरु असफल हुनु पर्दैन भन्दै आगामी वर्षमा कक्षा १२ मा अध्ययनरत भाइबहिनीहरुले पनि यसरी नै सफलता प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताइन् ।

अभिभावकहरुको तर्फबाट बोल्दै देवीमाया घर्तीले हामी हाम्रा छोराछोरीहरु सबै राम्रा र असल होउन् भन्ने चाहना राख्छौ तर चाहना राख्दैमा मात्र नपुग्ने भएको हुनाले सचेत अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका प्रति सचेत रहन सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्दै विद्यालयले तय गरेको यो कार्यक्रमले हामी सबै अत्यन्त प्रफुल्लित भएको कुरा बताउनुभयो ।

विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङले यो सफलता हामी सबैको प्रयासबाट सम्भव भएको हो । यो खुसी र हर्षको क्षण भनेको सबैको मिहिनेत र विद्यार्थीहरुको लगनशीलताकै परिणाम हो । अब, यो हर्ष र खुसी आगामी रिजल्टहरुमा पनि कायम राख्नु हामी सबैको चुनौती हो भन्नुभयो ।

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका शिक्षक श्री देवसिंह सुतारले दिनुभएको थियो ।