ताराखोला गाउँपालिका वडा नंर १ स्थित श्री जनप्रेम माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रम सहित गल्कोट समाज जापानले ५ लाखको अक्षयकोष स्थापना गरेकोछ । गल्कोट समाज जापानका अध्यक्ष श्री रत्नसिंह बस्नेत, महासचिव श्री दिलिप कँडेल, सचिव श्री भेषराज गौतम (कृष्ण), सचिव श्री कुलविर थापा, सह-कोषाध्यक्ष श्री दुर्गा थापा, सदस्य श्री प्रकाश निउरे, गल्कोट समाज नागोयाका सचिव श्री तुलविर थापा, गल्कोट समाज जापानका आजिवन सदस्य श्री कमला कँडेल लगायतका पदाधिकारी ज्यूहरूको प्रत्यक्ष उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ । गल्कोट समाज जापानबाट उपस्थित सम्पूर्ण पदाधिकारीहरूलाई खादा, माला र अविरद्वारा स्वागत गर्दै कार्यक्रमलाई औपचारिकता प्रदान गरिएको थियो । विद्यालयको विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता, प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङको सञ्चालन, प्रजातन्त्र विकास मा.वि. का विव्यस अध्यक्ष श्री भक्त बहादुर नाइसाको स्वागत मन्तव्यबाट अघि बढाइएको कार्यक्रममा गल्कोट समाज जापानका महासचिव श्री दिलिप कँडेल र अध्यक्ष श्री रत्नसिंह बस्नेतले आफ्नो संस्थाको ऐतिहासिक पृष्ठभूमि, संस्थाको उद्देश्य र हालसम्म गल्कोट समाज जापानले गरेका सामाजिक कार्यहरूको वारेमा प्रष्ट्याउनुभएको थियो ।

त्यसैगरी ताराखोला गाउँपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष श्री गौरीमाया गुरुङले गल्कोट समाजका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूलाई यो प्रशंसनीय कार्यका लागि धन्यवाद सहित आभार प्रकट गर्नुभयो । छात्रवृत्तिको कुल राशीको व्याँजबाट प्राप्त हुने आम्दानीले विद्यालयमा अध्ययनरत कमजोर तथा मेधावी विद्यार्थीहरूलाई सहयोग पुग्ने व्यहोरा गल्कोट समाज जापानका सचिव श्री भेषराज गौतमले जानकारी दिनुभयो । जनप्रेम मा.वि.लाई केन्द्र बनाएर सोही वडा अन्तर्गत श्री प्रजातन्त्र विकास मा.वि.लाई पनि ५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।