जनप्रेम माध्यमिक विद्यालयको कक्षा ९, १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई मिनिटेलर चलाउने सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा विशेष गरी विद्यार्थीहरूलाई टिक्ने र बिक्ने बनाउने उद्देश्यले यो सीप सिकाइएको हो । विद्यालयले विगत वर्षदेखि विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त अन्य व्यवहारिक तथा व्यवासयिक सीप सिकाउने उद्देश्यले फरक अभ्यास सञ्चालन गर्दै आएको हो । फरक अभ्यास कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसाय, तरकारी खेती, मिनीटेलर चलाउने सीपसँगसँगै यो आर्थिक वर्षमा कक्षा १२ लाई मोटर साइकल र कक्षा ६-८ र कक्षा १-३ लाई साइकल चलाउने सीप पनि सिकाइने योजना रहेको व्यहोरा विद्यालयका सहायक प्रधानाध्यापक टेक बहादुर पुनले बताउनुभयो ।
“गाउँघरमा हिजोआज गोरू पाल्न छोडेर सबै कृषकहरूले घरघरमा मिनीटेलर किन्न थालेपछि विद्यार्थीहरूलाई मिनीटेलर चलाउने सीप सिकाउन हामी बाध्य भयौँ” विद्यालयका शिक्षक श्री छम बहादुर वि.क. पुन भन्नुहुन्छ । शुरुशुरुमा छात्राहरूभन्दा छात्रहरू बढी सक्रिय देखिनुभयो तर आत्मविश्वास बढ्दै गएपछि छात्रभन्दा छात्राहरु नै बढी उत्सुक र सक्रिय भएर सिक्नुभयो यो देखेर मलाई निकै खुशी लाग्यो विद्यालयका सामाजिक विषयका शिक्षक सामु पौडैल बताउनुहुन्छ ।

कक्षा १० मा अध्ययनरत छात्रा ज्योती पुन भन्नुहुन्छ-“पहिला त कस्तो गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर सिक्दै गएपछि त सजिलै हुदोरहेछ । हाम्रो समूहको सबैजना छात्राहरुले त स्टार्ट गर्न पनि सक्यौ ।” त्यसैगरी कक्षा ११ मा अध्ययनरत छात्रा यमुना वि.क. भन्नुहुन्छ-“मेरो बाबा विदेश हुनुहुन्छ आमाले मिनीटेलर चलाउने मान्छे खोज्दैहुनुहुन्छ अबको शनिबार म आफै मिनीटेलर स्टार्ट गरेर शनिबार दिनभर आलु लगाउने बारी जोतेर बाबा र आमालाई खुशी बनाउछु ।”

कक्षा १२ मा अध्ययनरत समूह दुई नम्बरका छात्रा भावना छन्त्याल भन्नुहुन्छ-“यस्तो व्यवहारिक सीप विद्यालयमा सिक्न पाउँदा म आफूलाई भाग्यमानी ठानेकी छु । साच्चिकै अहिलेको कक्षा १२ को हाम्रो व्याच लक्की हो । अब हामीले विद्यालय छुट्टी हुदा घरमा मिनिटेलर आनन्दले चलाउन सक्षम भयौ ।”
विद्यालय भनेको त्यो मात्रै होइन जहाँ किताब मात्रै पढाइन्छ । विद्यालय त त्यो हो जहाँ विद्यार्थीहरुलाई जीवन जिउने, संघर्ष गर्ने र खुसी हुने कला पनि सिकाइन्छ । त्यसैले विद्यार्थीहरूलाई आफ्नो परिवेश र समय सान्दर्भिक सीप सिकाउने गरी अहिले हामीले तीन समूहमा विभाजन गरेर खेत बारीमा नै लगेर प्रत्यक्ष रुपमै प्रयोगात्मक अभ्यास गरायौ । यसले गर्दा सधै विद्यालयमा सैद्धान्तिक रुपमा घोक्न बाध्य भएका विद्यार्थी भाइबहिनीहरू प्रयोगात्मक रुपमै अभ्यास गर्न पाउदा निकै हर्षित देखिन्थे-विद्यालयका सूचना अधिकारी रामकृष्ण चालिसे भन्नुहुन्छ ।