जनप्रेम माध्यमिक विद्यालयले विद्यालयमै २०८२ सालको हिन्दू महिलाहरुको महान पर्व तिजको दर खाने कार्यक्रमसँगसँगै उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०८१ सालको एसईई र कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी तथा सम्बन्धित अभिभावकहरुलाई २०८२ साल भाद्र ६ गते शुक्रवारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । ताराखोला गाउँपालिकाद्वारा सञ्चालित कक्षा ८ को वार्षिक परीक्षामा सर्वाधिक जीपीए लिन सफल छात्र दिप्सन वि.क., एसईई परीक्षामा उत्तीर्ण हुने छात्रा छात्रहरुमध्येबाट सर्वाधिक जीपीए प्राप्त गर्ने छात्रा कृति श्रीस पुन र कक्षा १२ उत्तीर्ण हुने छात्रा छात्रहरुमध्येबाट सर्वाधिक जीपीए प्राप्त गर्ने छात्रा कञ्चन गुरुङ र दिपा अर्याललाई क्रमशः नगद रु. ३,३३३।-, ५,५५५।- , ४,४४४।- र ४,४४४।- तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

विद्यालयले विगत एक वर्षदेखि फरक अध्यास सञ्चालन गर्दै आएको थियो । सोही फरक अभ्यास सञ्चालन कार्यक्रम अन्तर्गत Head Teacher Award मार्फत कक्षा ८, १० र १२ कक्षामा सर्वाधिक जीपीए प्राप्त गर्ने छात्र तथा छात्राहरुलाई नगद तथा प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

विद्यालयका वि.वय.स. अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता ताराखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्री यम बहादुर श्रीसको प्रमुख आतिथ्यता वि.व्य. स. सदस्य गौरीमाया गुरुङको स्वागत र प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको औपचारिक समापन पश्चात सम्पूर्ण अभिभावकहरुलाई तिजको गीतमा नाँच्ने प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । अभिभावकहरुमध्ये उत्कृष्ट नृत्य प्रस्तुत गर्ने कमला वि.क.पुन र मनकुमारी रोकालाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रमको बीचबीचमा विद्यार्थी कलाकारहरूद्धारा तिजको गीत र नृत्य समेत प्रदर्शन गरिएको व्यहोरा विद्यालयका सूचना अधिकारी श्री रामकृष्ण चालिसेले जानकारी दिनुभयो ।
